काठमाडौं ।सिरहाको कर्जन्हामा यात्रुवाहक विद्युतीय गाडी र टिपर आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ।
दुर्घटनामा पाँच जना घाइते भएका छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कर्जन्हा नगरपालिका–४ स्थित भुल्केमा शुक्रबार दुर्घटना भएको हो। पूर्वतर्फबाट पश्चिम जाँदै गरेको विद्युतीय गाडीलाई विपरीत दिशाबाट आएको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गोलबजार नगरपालिका–४ की करिब ४५ वर्षीया शोभा कुमारी यादव गम्भीर घाइते भएकी थिइन्। उनको टाउको तथा अनुहारमा चोट लागेको थियो। उपचारका क्रममा कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको छ।दुर्घटनामा २२ वर्षीया प्रियंका यादव गम्भीर घाइते भएकी छन्। उनलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंस्थित मेडिसिटी अस्पताल लगिएको प्रहरीले जनाएको छ। अर्की घाइते गोलबजार–६ की ४५ वर्षीया ललिता महतोलाई थप उपचारका लागि विराटनगर पठाइएको छ।
ईभी चालक धनगढीमाई–२ का ३५ वर्षीय मन्जुर खान तथा गोलबजार–४ का संगीता मण्डल र फुलकुमारी यादवको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ। उनीहरूको स्थानीय अस्पतालमै उपचार भइरहेको छ।दुर्घटनामा परेका सबैजना जितिया पर्वका व्रतालु रहेको पारिवारिक स्रोतले जनाएको छ। जितियामा नुहाएर खाने दिन भएकाले उनीहरू कमला नदीतर्फ गएका बेला दुर्घटना भएको बताइएको छ।दुर्घटनामा संलग्न टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।