काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रतिपक्षी दल तथा जनताले उठाउँदै आएका सवाल र मागप्रति सरकारले पर्याप्त जवाफ दिन नसकेको भन्दै असन्तुष्टि जनाएका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले चालू अधिवेशन अन्त्य हुने समय नजिकिँदा पनि प्रधानमन्त्रीबाट प्रतिपक्ष र जनताले उठाएका महत्वपूर्ण प्रश्नको स्पष्ट जवाफ आउन नसकेको बताए।उनले सरकारलाई प्रतिपक्षी दललाई समेत साथमा लिएर अघि बढ्न सुझाव दिँदै आगामी पाँच वर्षसम्म स्थिर रूपमा सरकार सञ्चालन गर्न सत्तापक्षलाई आग्रह गरे। आफ्नै गतिविधिका कारण सरकार अस्थिर हुने अवस्था सिर्जना नगर्न पनि उनले सत्तापक्षलाई सचेत गराए।
विगतका जनआन्दोलनमा भएका घटनादेखि राजनीतिक दलका गतिविधिसम्मलाई लिएर नागरिकमा देखिएको असन्तुष्टिलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने उनको भनाइ थियो। उनले भ्रष्टाचार नियन्त्रण गर्दै जनविश्वास कायम गरेर सरकार अघि बढ्नुपर्नेमा जोड दिए।सांसद राईले जनप्रतिनिधिले संसदमा उठाएका विषय र नागरिकका अपेक्षालाई बेवास्ता नगर्न सरकारलाई आग्रह गरे। आगामी संसद् अधिवेशनमा जनप्रतिनिधि र जनतामा थप असन्तुष्टि तथा विरोधको वातावरण सिर्जना नहोस् भन्नेतर्फ सभामुखको समेत ध्यानाकर्षण गराए।