काठमाडौं ।दसैँ पर्व मनाउन यस वर्ष काठमाडौँ उपत्यकाबाट करिब १५ लाख मानिस बाहिरिने अनुमान गरिएको छ।
तीमध्ये झन्डै १० लाख यात्रुले सार्वजनिक यातायात प्रयोग गर्ने प्रक्षेपण गरिएको छ। यात्रुको बढ्दो चापलाई व्यवस्थित गर्न सडक सुरक्षा, सवारी परिचालन र टिकट व्यवस्थापन प्रमुख चुनौती बन्ने देखिएको छ।प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले ‘सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपाल’ ९सोटेन० को प्राविधिक सहयोगमा तयार पारेको अध्ययन प्रतिवेदनले दसैँको यात्रालाई सहज बनाउन विभिन्न उपाय प्रस्ताव गरेको छ। ट्राफिक तथ्याङ्क, सडकको अवस्था र यात्रुसँग गरिएको अनलाइन सर्वेक्षणका आधारमा प्रतिवेदन तयार पारिएको हो।
अध्ययनअनुसार फूलपातीदेखि अष्टमीसम्म उपत्यकाबाट बाहिरिने यात्रुको चाप सबैभन्दा बढी हुनेछ। फूलपातीका दिन मात्रै एक लाख १३ हजारभन्दा बढी यात्रु बाहिरिने अनुमान छ। दसैँ अवधिभर यात्रुलाई गन्तव्यसम्म पुर्याउन ४३ हजारभन्दा बढीदेखि ६५ हजारभन्दा धेरैसम्म सार्वजनिक सवारीका ट्रिप आवश्यक पर्न सक्ने प्रतिवेदनमा उल्लेख छ।उपत्यकाबाट बाहिरिने सवारीसाधनको ठूलो चाप नागढुङ्गा, साँगा र फर्पिङ नाकामा पर्ने गरेको छ। विशेषगरी नागढुङ्गा नाकामा ट्राफिक व्यवस्थापन कठिन हुने देखिएपछि पूर्वतर्फ जाने सवारीलाई बीपी राजमार्ग तथा कान्ति लोकपथतर्फ मोड्न अध्ययनले सुझाव दिएको छ। निर्माणाधीन नागढुङ्गा सुरुङमार्गको प्रयोगबाट पनि सवारी चाप व्यवस्थापन गर्न सकिने प्रस्ताव गरिएको छ।
यात्रुले टिकट काट्दा भोग्नुपर्ने समस्या पनि प्रतिवेदनमा समेटिएको छ। सर्वेक्षणमा सहभागीमध्ये ४३ प्रतिशतले विगतमा टिकट पाउन कठिन भएको बताएका छन् भने ३० प्रतिशतले निर्धारितभन्दा बढी भाडा तिर्नुपरेको गुनासो गरेका छन्। त्यस्तै, ५२ प्रतिशत यात्रुले मोबाइल एप वा वेबसाइटबाट अनलाइन टिकट काट्न चाहेको बताएका छन्।हालैको वर्षा, बाढी र पहिरोले विभिन्न राजमार्गमा क्षति पुर्याएकाले यस वर्षको दसैँ यात्रा थप जोखिमपूर्ण हुन सक्ने आकलन गरिएको छ। सम्भावित अवरोध हटाउन सडक विभागले विभिन्न संवेदनशील स्थानमा डोजर, एक्स्काभेटर र लोडरलगायत ५३ वटा ठूला उपकरण तयारी अवस्थामा राख्ने योजना बनाएको छ।
यात्रा सुरक्षित बनाउन लामो दूरीमा दुई जना चालक अनिवार्य गर्ने, सवारीसाधनको प्राविधिक परीक्षण गर्ने, चालकको स्वास्थ्य जाँच तथा मादक पदार्थ सेवन परीक्षणलाई प्रभावकारी बनाउने सुझाव पनि दिइएको छ। साथै, तोकिएका बसपार्कबाट मात्रै यात्रु चढाउने र ट्राफिक प्रहरीका लागि व्यवस्थित कार्यतालिका लागू गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।यात्रुको गुनासो सम्बोधन गर्न सहायता कक्ष र हटलाइनलाई प्रभावकारी बनाउने तथा दीर्घकालीन रूपमा सार्वजनिक यातायात प्राधिकरण गठन गर्ने प्रस्तावसमेत गरिएको छ। डिजिटल टिकट प्रणाली, जीपीएस र स्वचालित नम्बर प्लेट पहिचान गर्ने प्रविधिको प्रयोग विस्तार गर्नुपर्नेमा पनि अध्ययनले जोड दिएको छ।