काठमाडौं। महानायिका रेखा थापाको छातीमा सजिएको एउटा गहनाले अहिले ध्यान खिचेको छ। त्यो हो- ‘सिलाम साक्मा’।
महानायिका थापाले ‘सिलाम साक्मा’ लगाएको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्। तर तस्वीरसँगै उनले लेखेको एउटा वाक्यले यसलाई केवल गहनाको विषयमा सीमित हुन दिएको छैन।
रेखाले लेखेकी छन्, ‘मैले मेरो हृदयको नजिक सजाएको ‘सिलाम साक्मा’ एउटा संस्कृतिको प्रतीक मात्र होइन, पुस्तौँदेखिको विश्वास, पहिचान र गौरव हो।’
उनले अगाडि लेखेकी छन्, ‘यो हाम्रो इतिहास हो, हाम्रो अस्तित्व हो, अनि हाम्रो गर्व हो।’
तस्वीरमा रेखाको छातीमा सजिएको ‘सिलाम साक्मा’ देखिन्छ। नेपाली चलचित्रमा लामो समयदेखि आफ्नो छुट्टै पहिचान बनाएकी रेखाले यसपटक आफ्नो सिलाम साक्मार्फत सांस्कृतिक पहिचानलाई पनि अगाडि सारेकी छन्।
उनको अभिव्यक्तिमा ‘सिलाम साक्मा’ एउटा आभूषणभन्दा धेरै ठूलो अर्थमा आएको छ- पुस्तौँदेखि जोडिँदै आएको विश्वास, पहिचान र गौरवका रूपमा।
रेखाको तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा पनि यसबारे चासो बढेको छ। तस्वीरभन्दा बढी चर्चा भने उनले त्यससँग जोडेको भावनाको भइरहेको छ।