काठमाडौं ।नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले बाढीपहिरोका कारण बागलुङ र म्याग्दीमा ठूलो क्षति भएको भन्दै दुवै जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेकी छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शर्माले असोज ८ देखि ११ गतेसम्म आएको बाढीका कारण बागलुङमा मात्रै १३ जनाको ज्यान गएको जानकारी दिइन्। प्राकृतिक विपत्तिले भौतिक संरचनामा व्यापक क्षति पुर्याउँदा ठूलो संख्यामा नागरिक आधारभूत सेवाबाट प्रभावित भएको उनको भनाइ थियो।उनका अनुसार ताराखोला, निसीखोला, तमानखोला, ढोरपाटन, बडिगाड र गल्कोटलगायत क्षेत्र बाढी तथा हावाहुरीबाट गम्भीर रूपमा प्रभावित भएका छन्। धेरै घर, गोठ र खेतीयोग्य जमिनमा क्षति पुगेको उनले बताइन्।
विपद् आएको केही दिन बितिसक्दा पनि प्रभावित क्षेत्रका विद्युत्, सञ्चार, खानेपानी र सडक सेवा सहज रूपमा सञ्चालन हुन नसकेको शर्माले बताइन्। सञ्चार सम्पर्क विच्छेद हुँदा कतिपय स्थानको अवस्था अझै पूर्ण रूपमा जानकारीमा आउन नसकेको र दैनिक उपभोग्य सामग्रीको अभावसमेत बढ्दै गएको उनले उल्लेख गरिन्।मध्यपहाडी लोकमार्गअन्तर्गत मालढुङ्गाको पुलमा समेत क्षति पुगेका कारण यातायात सञ्चालन र राहत सामग्री पुर्याउन कठिनाइ भइरहेको उनको भनाइ छ।
शर्माले प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन र अवरुद्ध सडक तथा सञ्चार सेवा यथाशीघ्र पुनःस्थापना गर्न सरकारको ध्यानाकर्षण गराइन्। साथै, अन्य विपद् प्रभावित क्षेत्रमा उपलब्ध गराइएको राहतजस्तै बागलुङका प्रभावितका लागि पनि विशेष राहत प्याकेज घोषणा गर्न उनले माग गरिन्।