काठमाडौं ।हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर तथा भोटेकोशी र त्रिशूली नदी आसपासमा भएका विपद्बारे अध्ययन गर्न गठन गरिएको संसदीय विशेष समितिको पहिलो बैठक आज सिंहदरबारमा बस्दैछ।
असोज ५ गते गठन गरिएको १५ सदस्यीय समितिको पहिलो बैठकको प्रमुख एजेन्डा सभापति चयन गर्नु रहेको छ। सभापति पदमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सांसद गणेश पराजुलीको मात्रै उम्मेदवारी परेको छ।पराजुलीलाई सांसद मोहन आचार्यले प्रस्ताव गरेका छन् भने निशा डाँगी, पुष्पराज कँडेल, रमेशकुमार मल्ल, ध्रुव राई र सरस्वती लामाले समर्थन गरेका छन्। अन्य उम्मेदवारी नपरेको अवस्थामा बैठकले उनलाई सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछ।
समितिमा अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, धनञ्जय रेग्मी, ध्रुवराज राई, निशा डाँगी, पुष्पराज कँडेल, मोहन आचार्य, मिङमाग्याबु शेर्पा, रमेशकुमार मल्ल, रविन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया सदस्य रहेका छन्।सभापति चयनपछि समितिले भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद् तथा हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभावबारे औपचारिक अध्ययन र अनुसन्धान अघि बढाउनेछ।