काठमाडौं ।लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा रहेका झोलुङ्गे पुलमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ।
प्रभावित क्षेत्रको यकिन अवस्था पत्ता लगाउन सम्बन्धित निकायले तथ्यांक संकलन गरिरहेको जनाएको छ।स्थानीय पूर्वाधार विकास विभागका अनुसार सुदूरपश्चिमको महाकाली नदी आसपासदेखि गण्डकी प्रदेशको कालीगण्डकी करिडोरसम्मका विभिन्न झोलुङ्गे पुल प्रभावित भएको प्रारम्भिक जानकारी आएको छ।तर बाढी तथा पहिरोका कारण सडक सम्पर्क अवरुद्ध हुँदा प्राविधिक टोलीलाई क्षतिग्रस्त स्थानमा पुग्न कठिनाइ भएको विभागले जनाएको छ। प्रदेश तहमा सीमित कार्यालय र जिल्लास्तरमा पर्याप्त संरचना नहुँदा सबै क्षेत्रको विवरण तत्काल संकलन गर्न थप चुनौती देखिएको छ।
विभागका उपमहानिर्देशक तथा प्रवक्ता कमलकुमार अधिकारीले प्रभावित पुलहरूको वास्तविक अवस्था बुझ्न प्राविधिक टोलीबाट विवरण संकलन भइरहेको जानकारी दिए। सडक अवरुद्ध भएकाले स्थलगत निरीक्षणमा समय लागिरहेको उनको भनाइ छ।यसैबीच, कञ्चनपुरमा दोधारा–चाँदनी नगरपालिका–४ र भीमदत्त नगरपालिका–१३ जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुलमा समेत बाढीका कारण क्षति पुगेको छ। करिब १ हजार ४ सय ५३ मिटर लामो उक्त पुलका आठवटा पिल्लरमध्ये तेस्रो पिल्लरमा क्षति पुगेको जनाइएको छ।
पिल्लरमा क्षति पुगेपछि दोधारा तर्फको करिब ५।६ मिटर भाग माथि उठेको र पुलमा आवतजावत गर्न समस्या भएको बताइएको छ। पुलको संरचनामा थप क्षति पुगेसँगै त्यस क्षेत्रमा आवागमनसमेत प्रभावित भएको छ।देशभरका क्षतिग्रस्त झोलुङ्गे पुलको विस्तृत विवरण स्थलगत अध्ययनपछि मात्र यकिन हुने विभागले जनाएको छ।