काठमाडौं।हालैका विपद्का घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति चिन्ता जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले विपद् व्यवस्थापन प्रणालीमा संरचनागत सुधार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै खरेलले विपद्लाई केवल ‘दैवी प्रकोप’ भनेर व्याख्या गर्दै जिम्मेवारीबाट पन्छिने प्रवृत्ति अन्त्य गर्नुपर्ने धारणा राखे।उनले हालैको विपद्का कारण २७ जनाको मृत्यु भएको र चार जना अझै बेपत्ता रहेको जानकारी संसद्लाई दिए। साथै, विपद्का कारण अर्बौँ रुपैयाँ बराबरको भौतिक क्षति भएको उल्लेख गर्दै यस्ता घटनालाई प्राकृतिक तथा मानव सिर्जित जोखिमका रूपमा बुझेर त्यसअनुसार तयारी गर्नुपर्ने बताए।
खरेलले विगतदेखि नै विपद्लाई दैवी घटनाका रूपमा चित्रण गर्ने गरिएको भन्दै त्यसले जोखिम न्यूनीकरण र जिम्मेवारी निर्धारणमा समस्या पार्ने तर्क गरे। उनका अनुसार विपद् प्राकृतिक कारण वा मानवीय गतिविधिका कारण उत्पन्न हुन सक्ने भएकाले राज्यको तयारी र व्यवस्थापन प्रणाली प्रभावकारी हुन आवश्यक छ।
यसअघि आफूले संसद्मार्फत ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाम परिवर्तन गरी ‘प्रधानमन्त्री विपद् राहत कोष’ बनाउन माग गरेको स्मरण गराउँदै उनले त्यस विषयमा अहिलेसम्म सरकारबाट स्पष्ट जवाफ नआएको गुनासो गरे।विपद् व्यवस्थापन प्राधिकरणको वर्तमान संरचना र कार्यशैलीप्रति पनि प्रश्न उठाउँदै सांसद खरेलले सहसचिव तहका कर्मचारीको नेतृत्व मात्रले जटिल विपद् व्यवस्थापनका चुनौती समाधान गर्न नसकिने बताए।उनले प्राधिकरणलाई थप अधिकार सम्पन्न र प्रभावकारी बनाउँदै यसको संस्थागत क्षमता वृद्धि गर्नुपर्नेमा जोड दिए। साथै, संसद्को विशेष समिति तथा राज्य व्यवस्था र सुशासन समितिले समेत विपद् व्यवस्थापनको विषयलाई प्राथमिकताका साथ हेर्नुपर्ने उनको भनाइ थियो।