काठमाडौं ।नेपाली कम्युनिस्ट पार्टी नेकपा का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गैरआवासीय नेपाली संघ एनआरएनए का प्रतिनिधिबीच सोमबार भेटवार्ता भएको छ।
एनआरएनएका महासचिव डा. चिरञ्जीवी खड्काको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले प्रचण्डसँग भेट गरी बाढी तथा विपद् प्रभावित क्षेत्रमा संघले गर्दै आएको राहत र उद्धारसम्बन्धी कामबारे जानकारी गराएको थियो। प्रतिनिधिमण्डलले आगामी दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।भेटका क्रममा प्रचण्डले विपद्का बेला एनआरएनएले गर्दै आएको मानवीय सहयोगको प्रशंसा गरेका थिए।वार्तामा विदेशमा रहेका नेपालीका लागि वंशजको नागरिकताको निरन्तरताको विषयसमेत प्रमुख रूपमा उठाइएको थियो। एनआरएनए प्रतिनिधिहरूले विदेशमा बसोबास गर्ने नेपालीको नागरिकता सम्बन्धी अधिकारलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए।जवाफमा प्रचण्डले आफू सुरुदेखि नै नेपाली मूलका गैरआवासीय नेपालीको वंशजको नागरिकताको विषयमा सकारात्मक रहेको बताए। उनले नागरिकताको व्यवस्था गर्दा राजनीतिक अधिकारबाहेक आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्ने विषयमा आफ्नो धारणा स्पष्ट रहेको उल्लेख गरे।
विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पुँजी र प्रविधिलाई नेपालमा उपयोग गर्ने वातावरण बनाउन नागरिकताको निरन्तरताले सहयोग पुग्ने प्रचण्डको भनाइ थियो। यस विषयलाई अन्य राजनीतिक दलसँग समेत छलफल गरी आगामी दिनमा निष्कर्षमा पुर्याउने उनले प्रतिबद्धता जनाएका छन्।