काठमाडौं । फिल्मबाट निकालिएपछि बले अब त्यही फिल्मसँगै बक्स अफिसमा भिड्न लागेका छन्। के यो संयोग मात्रै हो, कि बदला लिन फिल्म जुधाइएको हो?
अभिनेता सागर लम्साल ‘बले’ले करिब १० दिन छायांकन गरिसकेको फिल्म ‘पाँच पाण्डव’बाट बाहिरिनुपरेको थियो। त्यसपछि उनी मुख्य भूमिकामा रहेको नयाँ फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ अब ‘पाँच पाण्डव’सँगै प्रदर्शनमा आउने भएको छ।
‘पाँच पाण्डव’ले बिहीबार तिहारको कात्तिक २० गते प्रदर्शन मिति घोषणा गरेको थियो। त्यसलगत्तै ‘डल्लेले इन्ट्री मार्यो’ले पनि सोही मितिमा प्रदर्शन गर्ने घोषणा गरेको हो।
यससँगै अहिले फिल्म क्षेत्रमा एउटा प्रश्न चर्चामा छ—बलेले आफूलाई निकालिएको फिल्मसँगै बक्स अफिसमा भिडेर हिसाब मिलाउन खोजेका हुन्?
निर्मातासँगको असन्तुष्टिका कारण बलेको दबाबमा फिल्मको प्रदर्शन मिति जुधाइएको चर्चा पनि सुरु भएको छ। यद्यपि, फिल्म जुधाउनुको वास्तविक कारण यही हो भन्ने स्वतन्त्र पुष्टि भएको छैन।
तर एउटै कलाकारसँग जोडिएका दुई फिल्म एकैदिन रिलिज हुने भएपछि तिहारको बक्स अफिस भिडन्त भने रोचक बन्ने निश्चित छ।