काठमाडौं ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कोशी प्रदेशका तराई क्षेत्रका अधिकांश स्थानीय तहमा पालिका अधिवेशनको प्रक्रिया अघि बढेको छ।
केही स्थानमा मतदानमार्फत नेतृत्व चयन भइरहेको छ भने कतिपय ठाउँमा सहमतिबाट नेतृत्व टुंग्याइएको छ।सुनसरीको इनरुवा नगरपालिकामा मतदान प्रक्रिया जारी रहेको जनाइएको छ। यता विराटनगर महानगरपालिका–६ को अधिवेशनका क्रममा दुई पक्षबीच विवाद भएपछि केही समय मतदान रोकिएको थियो। विवादका क्रममा हात हालाहालसमेत भएको र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको विवरण सार्वजनिक भएको छ।
लगातारको वर्षाका कारण कोशीका पहाडी जिल्लाका केही स्थानीय तहमा भने अधिवेशन प्रक्रिया प्रभावित भएको बताइएको छ। मौसम प्रतिकूल रहेका स्थानमा अधिवेशनको तालिका केही दिन पछाडि सारेर अनुकूल समयमा सम्पन्न गर्ने व्यवस्था गरिएको कांग्रेसले जनाएको छ।कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका छ।