काठमाडौं ।भारी वर्षाको पूर्वानुमानपछि गण्डकी क्षेत्रमा रहेका जलविद्युत आयोजनाको सुरक्षा सतर्कता बढाइएको छ।
मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म भारी वर्षा हुनसक्ने र गण्डकी क्षेत्र बढी प्रभावित हुनसक्ने प्रक्षेपण गरेपछि आयोजनाहरूलाई उच्च सतर्कतामा राखिएको हो।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागले गण्डकी बेसिनमा सञ्चालनमा रहेका जलविद्युत आयोजनालाई सम्भावित जोखिमका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
विभागका महानिर्देशक सागरराज गौतमका अनुसार नेपाल विद्युत् प्राधिकरणका आयोजनासँगै निजी क्षेत्रबाट सञ्चालित परियोजनामा पनि विशेष निगरानी बढाइएको छ। प्राधिकरणका आयोजनालाई मौसमको अवस्था निरन्तर बुझेर आवश्यक सुरक्षा उपाय अपनाउन निर्देशन दिइएको उनले बताए।निजी जलविद्युत आयोजनाहरूको सुरक्षा र समन्वयका लागि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पान ले समेत सहजीकरण गरिरहेको छ।
यसैबीच, नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत आयोजना तथा विद्युत् पूर्वाधारको सुरक्षालाई प्राथमिकतामा राख्न निर्देशन दिएका छन्। यसअघि भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको क्षतिलाई ध्यानमा राख्दै मौसमको सूचना निरन्तर अद्यावधिक गरेर सम्भावित जोखिम क्षेत्रमा पूर्वतयारी गर्न उनले निर्देशन दिएका हुन्।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार गण्डकी क्षेत्रका आयोजनालाई चौबीसै घण्टा उच्च सतर्कतामा राखिएको छ। जोखिम न्यूनीकरणका लागि प्राधिकरणले निरन्तर समन्वय गरिरहेको र निजी आयोजनासँगको सहकार्यमा इप्पानले पनि प्रतिनिधि खटाएको उनले जानकारी दिए।यसअघि भोटेकोशी बाढीबाट जलविद्युत आयोजना, विद्युत् संरचना र सबस्टेसनमा क्षति पुग्दा राष्ट्रिय विद्युत् प्रणालीमा करिब १० प्रतिशत विद्युत् आपूर्ति प्रभावित भएको थियो। त्यही अनुभवलाई ध्यानमा राख्दै अहिले सम्भावित जोखिम टार्न पूर्वतयारी तीव्र पारिएको हो।