काठमाडौं ।नेकपा एमाले ले सरकारले संविधान संशोधनका विषयमा अघि बढाएका कदमप्रति आपत्ति जनाएको छ।
पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकले संविधानका मूल भावना र आधारभूत संरचनामाथि असर पर्ने गरी गतिविधि भइरहेको निष्कर्ष निकालेको हो।ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा असोज ५ देखि ८ गतेसम्म बसेको बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भएको थियो।बैठकले संविधान संशोधनका लागि सरकारले एकपक्षीय रूपमा कार्यदल गठन गरेको भन्दै त्यसबाट संविधानका आधारभूत संरचनामै असर पार्ने प्रयास भएको आरोप लगाएको छ।
एमालेले भने संविधान समयअनुसार परिमार्जन गर्न सकिने दस्ताबेज भएको धारणा दोहोर्याएको छ। आवश्यकता र औचित्य पुष्टि हुने अवस्थामा संविधानका विभिन्न प्रावधान संशोधन गर्न सकिने भए पनि त्यसका लागि उचित समय र प्रक्रिया आवश्यक रहेको पार्टीको भनाइ छ।वर्तमान सरकार संविधानप्रति स्पष्ट प्रतिबद्ध देखिन नसकेको आरोप लगाउँदै एमालेले संशोधनका नाममा संविधानका आधारभूत स्तम्भमा असर पार्ने प्रयास स्वीकार्य नहुने जनाएको छ।बैठकले संविधानको रक्षा तथा सरकारका यस्ता कदमविरुद्ध पार्टी दृढतापूर्वक अघि बढ्ने निर्णय गरेको एमालेले जनाएको छ।