काठमाडौं । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सांसदहरूले रसुवाको भोटेकोशी बाढीमा परी मृत्यु भएका व्यक्तिको धार्मिक परम्पराअनुसार अन्त्येष्टि गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।
बैठकको शून्य समयमा सांसद सरस्वती लामाले बाढीमा ज्यान गुमाएकाहरूको शव पहिचान तथा व्यवस्थापन गरी सम्बन्धित परिवारको धार्मिक संस्कारअनुसार अन्त्येष्टिको व्यवस्था गर्न आग्रह गरिन्।सांसद साजिदा खातुन सिद्धिकीले भोटेकोशी बाढीपछि बेपत्ता भएकाहरूको खोजी कार्यबारे सरकारसँग जानकारी मागिन्। उनले पछिल्लो समय आत्मदाहका घटना बढ्नुको कारण पहिचान गरी त्यसको समाधानतर्फ ध्यान दिनुपर्ने पनि बताइन्।
त्यस्तै, सांसद सागर भुसालले जेनजी आन्दोलनबाट प्रभावित व्यक्तिका लागि उपलब्ध गराउने भनिएको पाँच हजार रुपैयाँले गाँस, बास र कपासजस्ता आधारभूत आवश्यकता पूरा नहुने भन्दै राहत रकमबारे पुनर्विचार गर्न आग्रह गरे।सांसद सीताराम साहले तराई क्षेत्रमा धानबालीका लागि आवश्यक पानीको अभाव देखिएको भन्दै सुक्खाको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।
यसैगरी सांसद सृजना श्रेष्ठले निजी क्षेत्रले रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेल्ने भएकाले निजी क्षेत्रको प्रवर्द्धनमा सरकारको ध्यान जानुपर्ने धारणा राखिन्।सांसद सुजाता तामाङले कृषि भूमि संरक्षणका लागि प्रभावकारी व्यवस्था आवश्यक रहेको बताइन्। गरिब तथा विपन्न परिवारको प्रमुख आयस्रोत कृषि भएकाले कृषि जमिनलाई क्षति हुनबाट जोगाउनुपर्नेमा उनले जोड दिइन्।