काठमाडौं ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको धनसार–जङ्गलसहिया सडकखण्डमा ईभी र मोटरसाइकलबीच भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ।
दुर्घटनामा मोटरसाइकलमा सवार अर्का युवक गम्भीर घाइते भएका छन्।प्रहरीका अनुसार मृत्यु हुनेमा फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर दोस्तियाका २० वर्षीय सन्देश यादव रहेका छन्। दुर्घटनामा कटहरिया नगरपालिका–८ बलुवा टोलका २० वर्षीय राजगीर यादव घाइते भएका हुन्।बुधबार साँझ गुजरा नगरपालिका–३ स्थित धनसार गेटबाट करिब एक किलोमिटर दक्षिण कल्भर्ट नजिक दुर्घटना भएको थियो। निजगढतर्फबाट आउँदै गरेको ईभी र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा दुवै जनालाई चोट लागेपछि प्रहरीले उद्धार गरी चन्द्रपुरस्थित अस्पताल पुर्याएको थियो। उपचारका क्रममा सन्देशको साँझ करिब ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।राजगीरको प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको छ। दुर्घटनामा संलग्न ईभी र मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।