काठमाडौं ।नेपाली कांग्रेसले देशका विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै पार्टीका अधिवेशन तथा निर्वाचन प्रक्रिया सञ्चालन गर्दा विशेष सावधानी अपनाउन निर्देशन दिएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य–सचिव राजु कटुवालले जारी गरेको विज्ञप्तिमा जल तथा मौसमसम्बन्धी निकायबाट असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना रहेको जानकारी प्राप्त भएको उल्लेख छ।मौसम प्रतिकूल हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै सम्बन्धित निर्वाचन अधिकृतहरूलाई आफ्नो कार्यक्षेत्रमा हुने पालिका, प्रदेशसभा र प्रतिनिधिसभा तहका अधिवेशन तथा निर्वाचनका कार्यक्रम आवश्यकताअनुसार समय मिलाएर सञ्चालन गर्न भनिएको छ।
कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत अहिले देशभर पालिका तहको अधिवेशन प्रक्रिया चलिरहेको छ। पार्टीको कार्यतालिकाअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन आयोजना हुँदैछ।कांग्रेसका अनुसार असोज ७ गतेसम्म ५८ जिल्लाका ५१२ पालिकामा उद्घाटन र बन्द सत्रसहित निर्वाचन प्रक्रिया अघि बढिसकेको छ। अब बाँकी रहेका २४१ पालिकामा असोज ८ र ९ गते अधिवेशन सञ्चालन गर्ने तयारी छ।भारी वर्षाका कारण अधिवेशन तथा निर्वाचन प्रक्रियामा असर पर्न सक्ने भएकाले स्थानीय अवस्था हेरेर आवश्यक समन्वय, सुरक्षा र सावधानी अपनाउँदै कार्यक्रम अघि बढाउन निर्वाचन अधिकृतहरूलाई कांग्रेसले आग्रह गरेको छ।