काठमाडौं ।जापानमा भइरहेको २०औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक हात पारेको छ।
पुरुष कुमितेको ८४ केजीभन्दा माथिको तौल समूहमा नेपाली खेलाडी तेन्जिङ शेर्पाले कास्य पदक जितेका हुन्।टोयाहाशी जिम्नेसियममा भएको कास्य पदकको प्रतिस्पर्धामा तेन्जिङले लाओसका वाथाना जायासनलाई ९–१ अंकले पराजित गरे। उनले युकोबाट ६ र इप्पोनबाट ३ अंक हासिल गरेका थिए।
यसअघि सेमिफाइनलमा तेन्जिङ इरानका महमुद नेमातीसँग ५–० ले पराजित भएका थिए। त्यसपछि उनले कास्यका लागि प्रतिस्पर्धा गरेका हुन्।क्वार्टरफाइनलमा मकाउका खेलाडीसँगको खेलमा तेन्जिङ १–० ले पछि परेका थिए। तर विपक्षी खेलाडीको गल्तीपछि निर्णायकले तेन्जिङलाई विजेता घोषणा गरेका थिए।कास्य पदकसँगै जारी एसियाली खेलकुदमा नेपालले पदकको खाता खोलेको छ।