काठमाडौं ।अभिनेता भुवन केसीको निर्देशनमा बनेको नेपाली फिल्म ‘बाटुलो जून’ अब कात्तिक २६ गतेदेखि देशभरका हलमा प्रदर्शन हुने भएको छ।
निर्माण पक्षले बुधबार नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो।यसअघि दसैँको अवसरमा फिल्म रिलिज गर्ने तयारी गरिएको थियो। तर दसैँमा अन्य फिल्म पनि प्रदर्शनमा आउने भएपछि हलमा शो बाँडफाँटमा समस्या हुन सक्ने वितरक तथा प्रदर्शकको सुझावअनुसार फिल्मको रिलिज मिति परिवर्तन गरिएको निर्माण पक्षले जनाएको छ।निर्देशक भुवन केसीले नेपाली फिल्मबीच अनावश्यक प्रतिस्पर्धाभन्दा सबै फिल्मले सहज रूपमा प्रदर्शनको अवसर पाउनु उद्योगका लागि सकारात्मक हुने बताएका छन्।
सार्वजनिक पोस्टरमा अनमोल केसी र प्रिन्सी खतिवडा प्रेमिल जोडीका रूपमा देखिएका छन्। पोस्टरको परिवेशले फिल्ममा ग्रामीण जीवन र प्रेमकथालाई मुख्य आधार बनाइएको संकेत गर्छ।सानराइज पिम्चर्सको ब्यानरमा बनेको फिल्ममा अनमोल र प्रिन्सीसँगै भुवन केसी, नेन्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरीलगायत कलाकारको अभिनय रहेको छ। फिल्मको कथा सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलले लेखेका हुन्।