काठमाडौं ।जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका चार सरकारी कार्यालयमा गरेको छड्के अनुगमनका क्रममा ३२ जना कर्मचारी कार्यालयमा अनुपस्थित भेटिएका छन्।
प्रशासकीय अधिकृत कोवित ढकालको नेतृत्वमा सोमबार गरिएको अनुगमनमा सडक डिभिजन कार्यालयमा मात्रै प्रमुख नारायण निघुरेसहित २३ जना कर्मचारी उपस्थित नभएको पाइएको हो। अनुपस्थित हुनेमा केही इन्जिनियरसमेत रहेको प्रशासन कार्यालयले जनाएको छ।त्यस्तै, संघीय सहरी विकास तथा भवन निर्माण कार्यालयमा पनि नौ जना कर्मचारी अनुपस्थित भेटिएका छन्।
तर, औषधि व्यवस्था विभाग र खानेपानी तथा ढल व्यवस्थापन कार्यालयमा भने अनुगमनका क्रममा सबै कर्मचारी कार्यालयमै उपस्थित रहेको सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले जानकारी दिए।सरकारी कार्यालयमा कर्मचारी नियमित रूपमा उपस्थित नहुने गरेको गुनासो आएपछि प्रशासनले चारवटै कार्यालयमा आकस्मिक निरीक्षण गरेको जनाएको छ। अनुगमनमा अनुपस्थित भेटिएका कर्मचारीमाथि प्रचलित नियमअनुसार आवश्यक कारबाही गरिने प्रशासनले जनाएको छ।