काठमाडौं । नेपाली फिल्म ‘गौँथली’ ले प्रदर्शनको क्रममा बक्स अफिसमा २५ करोडभन्दा बढीको ग्रस कलेक्सन गरेको छ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फिल्मले २५ करोड ९४ लाख ७३ हजार ४० रुपैयाँ ग्रस कमाएको हो।बोर्डको विवरण २०८३ असोज ४ गते आइतबार राति ११ः५९ बजेसम्मको रहेको छ। उक्त अवधिसम्म फिल्मलाई ९ लाख ४० हजार ९ सय १५ दर्शकले हलमा पुगेर हेरेका छन्।
डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’ गत साउन १ गतेदेखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मले प्रदर्शनको अवधिमा दर्शकको उल्लेख्य साथ पाएको देखिएको छ।चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली र सीतादेवी तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ।