काठमाडौं । २०औँ एसियाली खेलकुदमा नेपाली पुरुष कबड्डी टोलीले आफ्नो पहिलो खेलमै हार बेहोरेको छ।
नागोयास्थित टोकाई सिटिजन जिम्नेसियममा सोमबार भएको समूह ‘बी’को प्रतिस्पर्धामा नेपाल थाइल्यान्डसँग ५९–४८ अंकले पराजित भएको हो।खेलको पहिलो हाफमा थाइल्यान्डले २८ अंक बनाउँदा नेपालले २४ अंकमा चित्त बुझाउनुपरेको थियो। सुरुवातदेखि नै अग्रता बनाएको थाइल्यान्डले दोस्रो हाफमा पनि नेपालमाथि दबाब कायम राख्यो।दोस्रो हाफमा थाइल्यान्डले ३१ अंक जोड्दा नेपालले २४ अंक मात्र बनाउन सक्यो। अन्ततः थाइल्यान्डले ११ अंकको अन्तरमा खेल आफ्नो पक्षमा पार्यो।समूह चरणको पहिलो खेलमै पराजित भएपछि नेपालको आगामी खेलमा सुधारिएको प्रदर्शन आवश्यक देखिएको छ।