काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको नेपाली टोली आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय छलफलमा सहभागिता जनाउनेछन्।त्यस क्रममा उनले विभिन्न देशका आफ्ना समकक्षी तथा संयुक्त राष्ट्रसंघका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको मन्त्रालयले जनाएको छ।यसपटकको महासभामा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री बालेन्द्र शाहले गर्नेछन्। प्रधानमन्त्री शाह सेप्टेम्बर २२ अर्थात् असोज ६ गते न्यूयोर्क जाने र सेप्टेम्बर २४ मा महासभाको सामान्य बहसलाई सम्बोधन गर्ने कार्यक्रम छ।प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनालसहित उच्च सरकारी अधिकारीहरू सहभागी हुनेछन्। महासभाका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ।