काठमाडौं ।जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाभरका विद्यालय परिसरमा राजनीतिक दलका कार्यक्रम तथा गतिविधि सञ्चालन नगर्न निर्देशन दिएको छ।
विद्यालयमा राजनीतिक दलसम्बन्धी कार्यक्रम हुँदै आएको भन्दै विभिन्न ठाउँबाट गुनासो आएपछि प्रशासनले यस्तो निर्देशन जारी गरेको हो। प्रशासनका अनुसार विद्यालय क्षेत्र पठनपाठन र शैक्षिक गतिविधिका लागि संवेदनशील स्थान भएकाले त्यहाँ दलगत गतिविधि सञ्चालन गर्नु उचित हुँदैन।सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निरौलाले जारी गरेको सूचनामार्फत जिल्लामा सक्रिय सबै राजनीतिक दललाई विद्यालयमा आफ्ना आन्तरिक तथा सार्वजनिक कार्यक्रम नगर्न आग्रह गरिएको छ। चुनावी कार्यक्रम, बैठक, प्रशिक्षण, अभिमुखीकरण, आमसभा तथा भेला लगायतका गतिविधि विद्यालय परिसरमा सञ्चालन नगर्न प्रशासनले स्पष्ट पारेको छ।
त्यस्तै, विद्यालय क्षेत्रमा राजनीतिक गतिविधि हुन नदिन प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, सम्बन्धित वडा कार्यालय र स्थानीय तहलाई समेत आवश्यक पहल गर्न प्रशासनले अनुरोध गरेको छ।प्रशासनले विद्यालयलाई शैक्षिक वातावरण कायम राख्ने स्थानका रूपमा प्रयोग गर्न र त्यहाँ दलगत गतिविधि हुन नदिन सम्बन्धित पक्षलाई सचेत गराएको हो।