काठमाडौं । अभिनेत्री उपासना सिंह ठकुरीको प्रमुख भूमिका रहेको नेपाली फिल्म ‘जलाकी’ को फस्टलुक टिजर सार्वजनिक भएको छ ।
अशोक थापा मगरको निर्देशनमा बनेको यो फिल्म आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।सार्वजनिक टिजरले कलेज जीवनको परिवेशमा रहेको प्रेमकथालाई केन्द्रमा राखेको संकेत गर्छ । टिजरमा उपासनाको पात्र अभिनेता सोनम तोप्देनको पात्रप्रति एकतर्फी रूपमा आकर्षित भएको देखाइएको छ । यसले फिल्ममा कलेज जीवनसँग जोडिएको अधुरो प्रेम र भावनात्मक सम्बन्धलाई प्रमुख विषय बनाइएको अनुमान गर्न सकिन्छ ।
फिल्ममा उपासना र सोनमसँगै शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, राजु रेग्मी मगर, भावना मगर, माओत्से गुरुङ, बुद्धि तामाङ, उषा खड्गी तथा खड्कबहादुर पुन खबपु लगायत कलाकारको अभिनय रहेको छ । अभिनेता तथा क्याप्टेन विजय लामा फिल्ममा विशेष भूमिकामा देखिनेछन् ।एम मिडिया प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा बेताने मगर बबिता राना, ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी निर्माता छन् ।
फिल्मको कथा तथा लेखन निर्देशक अशोक थापा मगरले गरेका हुन् । छायांकन शैलेन्द्र डी कार्कीले गरेका छन् भने सम्पादनको जिम्मेवारी पनि निर्देशक मगरले नै सम्हालेका छन् । फिल्ममा सरित रयान र एसडी योगीको संगीत रहेको छ ।टिजरमा देखाइएको कलेज जीवन, एकतर्फी प्रेम र अधुरो सम्बन्धको झलकले ‘जलाकी’लाई युवापुस्ताको प्रेमकथामा आधारित फिल्मका रूपमा प्रस्तुत गर्ने संकेत गरेको छ ।