काठमाडौं ।इंग्ल्यान्डले श्रीलंकाविरुद्धको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज एक खेल बाँकी छँदै आफ्नो पक्षमा पारेको छ।
कार्डिफमा भएको दोस्रो खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै इंग्ल्यान्डले सिरिजमा २–० को अग्रता बनाएको हो।श्रीलंकाले दिएको १४६ रनको लक्ष्य इंग्ल्यान्डले १२।१ ओभरमै ४ विकेट गुमाएर पूरा गर्यो। टम बान्टनले आक्रामक ब्याटिङ गर्दै २४ बलमा ४ छक्कासहित अविजित ५२ रन बनाए। कप्तान ह्यारी ब्रुकले ८ बलमा ३ छक्कासहित २३ रन जोडे।
त्यसअघि ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो। पाथुम निसान्काले ३७ रन बनाए। सुरुवातमा आक्रामक देखिएको श्रीलंकाको ब्याटिङ मध्यक्रमपछि भने कमजोर भयो।इंग्ल्यान्डका लियाम डसनले ३ विकेट लिए भने जेमी ओभरटन र जोफ्रा आर्चरले २–२ विकेट हात पारे। इंग्ल्यान्डले जवाफी ब्याटिङमा १० छक्का प्रहार गर्दै सहज जित निकाल्यो।सिरिजको अन्तिम खेल शनिबार ओल्ड ट्राफोर्डमा हुनेछ। त्यसपछि दुवै टोलीले तीन खेलको एकदिवसीय सिरिज खेल्नेछन्।