काठमाडौँ । ग्याङस्टर र अपराधको कथा भन्नेबित्तिकै बन्दुक, गोली र हिंसाको दृश्य सम्झिने दर्शकका लागि नेपाली फिल्म ‘पारि बुटोल’ केही फरक स्वाद लिएर आउँदैछ।
गणेशदेव पाण्डेको निर्देशनमा तयार भइरहेको यो फिल्ममा करिब ८० प्रतिशत कलाकार रंगमञ्चबाट आएका छन्, जसले अभिनयलाई कथाको प्रमुख आधार बनाउने प्रयास गरिएको छ। बुटवललाई कथाको मुख्य परिवेश बनाइएको फिल्मको अन्तिम चरणको छायांकन भइरहेको छ। अपराध र ग्याङस्टरको संसारलाई केवल हिंसा र शक्ति संघर्षका रूपमा प्रस्तुत गर्नुको सट्टा मानवीय सम्बन्ध, मनोवैज्ञानिक द्वन्द्व र पात्रभित्रका उतारचढावलाई कथाको केन्द्रमा राखिएको निर्माण पक्षले जनाएको छ।
फिल्ममा अनुप बराल, दिया मास्के, दिव्यदेव, कामेश्वर चौरसिया, सुशील सिटौला, मोनिका थापा, किरण श्रेष्ठ, अबिरल प्रताप अधिकारी, सुदीप खटिवडा र तुफान थापालगायतका कलाकारको अभिनय रहेको छ। कलाकारमध्ये ठूलो हिस्सा रंगमञ्चमा लामो समयदेखि सक्रिय कलाकारहरूको रहेकाले फिल्ममा अभिनयको गहिराइ र पात्रअनुसारको प्रस्तुति देखिने अपेक्षा गरिएको छ।
‘पारि बुटोल’लाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन्। फिल्मका निर्माता ल्याक्सी श्रेष्ठ र मनीषा अधिकारी हुन् भने छायांकन महेश पौडेल र विवेक खड्काले गरिरहेका छन्। बुटवल र आसपासको परिवेश, अपराधको संसारभित्रका सम्बन्ध तथा पात्रहरूको मनोवैज्ञानिक पक्षलाई जोडेर तयार भइरहेको फिल्मले नेपाली ग्याङस्टर जनरामा नयाँ प्रस्तुति दिने निर्माण पक्षको दाबी छ। फिल्मको प्रदर्शन मिति भने अन्तिम छायांकनपछि सार्वजनिक गरिने बताइएको छ।