काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले बाढीपहिरो प्रभावित क्षेत्रको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणको कामलाई प्रभावकारी बनाउन एक साताभित्र संसदीय विशेष समिति गठन गर्ने सहमति गरेको छ।
बैठकपछि रास्वपाका प्रवक्ता जगदीश खरेलले भोटेकोशीलगायत बाढीपहिरो प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरेका खोज तथा उद्धार, राहत वितरण र पुनर्निर्माणका कामबारे बैठकमा समीक्षा भएको जानकारी दिए। राजनीतिक दलहरूले विपद्का बेला गरेका सहयोग तथा पहलका विषयमा समेत छलफल गरिएको उनले बताए।बैठकले रवि लामिछानेको संयोजकत्वमा रहेको सर्वदलीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय गरेको छ। उक्त संयन्त्रमा रास्वपासहित नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, जसपा नेपाल, जनमत पार्टीलगायत संसद्मा प्रतिनिधित्व गर्ने तथा बाहिर रहेका दलहरूको सहभागिता रहने जनाइएको छ।
संसद्मा रहेका दलहरूको सिट संख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित हुने गरी विशेष समिति गठन गर्ने सहमति भएको हो। एक साताभित्र गठन हुने समितिले विपद् प्रभावित क्षेत्रको स्थलगत अध्ययन, आवश्यक छानबिन तथा सम्बन्धित निकायबीच समन्वय गर्नेछ।
समितिको कार्यक्षेत्र निर्धारण गर्ने कार्यादेश टीओआर भने अझै तयार हुन बाँकी रहेको प्रवक्ता खरेलले बताए। समितिले विपद् व्यवस्थापनमा देखिएका कमजोरी पहिचान गरी आगामी दिनमा सुधारका लागि सरकारलाई आवश्यक सुझाव दिनेछ।यसैबीच, प्रधानमन्त्रीको प्रस्तावित संयुक्त राष्ट्रसङ्घ भ्रमणका विषयमा पनि सर्वदलीय बैठकमा छलफल भएको छ। बैठकमा सहभागी दलका नेताहरूले नेपालले भोगिरहेको वातावरणीय क्षति र त्यसबाट परेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिएका छन्।विशेषगरी ‘जलवायु न्याय’को विषयलाई संयुक्त राष्ट्रसङ्घमा प्रभावकारी रूपमा उठाउन प्रधानमन्त्रीलाई सुझाव दिने सहमति भएको रास्वपाले जनाएको छ।