काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद लालविक्रम थापाले इटहरीको सेरा खोलामा रहेको बाँध भत्किएपछि आसपासका बस्ती बाढीको जोखिममा परेको भन्दै तत्काल आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले बाँधको क्षतिग्रस्त भाग तत्काल मर्मत गर्न तथा बाढीको जोखिम रहेका क्षेत्र पहिचान गरी नियन्त्रणका उपाय अघि बढाउन सरकारसँग आग्रह गरेका हुन्।उनका अनुसार खोलाले पछिल्लो समय आफ्नो धार परिवर्तन गर्दै इटहरीतर्फ प्रवेश गरेको छ। हाल ट्याङ्ग्रा खोलाले पानीको बहाव धानिरहेको भए पनि ठूलो वर्षा भएमा अवस्था थप गम्भीर बन्न सक्ने उनले बताएका छन्।
थापाले सेरा खोलाको बाढी बजार तथा बस्ती क्षेत्रमा पसे इटहरीदेखि खनार हुँदै दुहबीसम्म ठूलो जनधनको क्षति हुनसक्ने जोखिम रहेको बताए।इटहरीमा हरेक वर्ष बाढीको समस्या दोहोरिने गरेको उल्लेख गर्दै उनले सम्भावित क्षति रोक्न सरकारले तत्कालै प्रभावकारी पहल गर्नुपर्ने धारणा राखे।