काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पहलमा बोलाइएको सर्वदलीय बैठक सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा सुरु भएको छ।
बुधबार बिहान सुरु भएको बैठकमा भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका कामलाई समन्वय गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल भइरहेको छ।भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। त्यसपछि बसेको सर्वदलीय बैठकले खोजी तथा उद्धार, राहत व्यवस्थापन र दीर्घकालीन पुनर्निर्माणसँग सम्बन्धित विभिन्न विषय समेटिएको १० बुँदे साझा प्रतिबद्धता गरेको थियो।
त्यसै प्रतिबद्धतालाई कार्यान्वयनमा लैजाने र बाढीपछिको पुनःस्थापना तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउन आवश्यक राजनीतिक संयन्त्रको स्वरूपबारे पछिल्ला दिनमा दलहरूबीच छलफल हुँदै आएको छ। संयन्त्र संसद् मातहत गठन गर्ने वा संसद्बाहिर उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने विषयमा समेत विकल्पहरूबारे चर्चा भएको छ।बैठकमा रास्वपा सभापति रवि लामिछानेसहित विभिन्न राजनीतिक दलका शीर्ष तथा वरिष्ठ नेताहरू सहभागी छन्। यसअघि पनि लामिछानेले बाढीलाई राष्ट्रिय महत्त्वको जलवायुजन्य विपद्का रूपमा सम्बोधन गर्न र क्षति तथा पुनर्निर्माणको अनुगमनका लागि सर्वदलीय संसदीय संयन्त्र बनाउन प्रस्ताव गरेका थिए।बाढीपछि गठन गर्ने भनिएको संयन्त्र कार्यान्वयनमा ढिलाइ भएको विषयमा विभिन्न दलका नेताहरूले समेत प्रश्न उठाउँदै आएका छन्। त्यसैले बुधबारको बैठकलाई प्रस्तावित संयन्त्रको स्वरूप र कार्यान्वयनबारे निर्णयतर्फ अघि बढ्ने प्रयासका रूपमा हेरिएको छ।