काठमाडौं ।प्रतिनिधि सभाको बैठकमा सांसदहरूको उपस्थिति न्यून भएको विषयलाई लिएर नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले असन्तुष्टि व्यक्त गरेका छन्।
मंगलबारको बैठकमा बोल्दै उनले कानुन निर्माण र देशको विकासका लागि महत्वपूर्ण मानिने संसद्मा सांसदहरूको उपस्थिति कमजोर देखिनु दुःखद भएको बताए।दुलालले ठूलो संख्यामा सांसद रहेको दलबाट समेत बैठकमा अपेक्षित उपस्थिति नहुनु गम्भीर विषय भएको टिप्पणी गरे। संसद्को प्रभावकारिता र गरिमा कायम राख्न सांसदहरू स्वयं जिम्मेवार हुनुपर्ने उनको भनाइ छ।उनले सदनको मर्यादा जोगाउनु सबै सांसदको साझा जिम्मेवारी भए पनि त्यसको प्रमुख दायित्व सरकार पक्षमा रहने बताए। सत्तापक्षबाट पटक–पटक संसद्को गरिमा प्रभावित हुने गतिविधि भइरहेको भन्दै उनले यसतर्फ गम्भीर बन्न आग्रह गरे।बैठकमा दुलालले प्रजनन स्वास्थ्य तथा आमा र नवजात शिशुको स्वास्थ्य अधिकारसम्बन्धी कानुनी व्यवस्था भए पनि त्यसको व्यवहारिक कार्यान्वयन कमजोर रहेको विषय पनि उठाए।
काठमाडौँमा भदौ २४ गते एक सुत्केरी महिलाले उपचारका लागि आवश्यक रकम जुटाउन नसक्दा अस्पतालको बाहिरै बच्चा जन्माउनुपरेको घटनालाई उदाहरण दिँदै उनले स्वास्थ्य सेवा क्षेत्रमा देखिएको समस्या र बिरामीमाथि पर्ने आर्थिक बोझबारे प्रश्न उठाए। स्वास्थ्य सेवा अनावश्यक प्रक्रिया र शुल्क असुलीमा केन्द्रित हुन नहुने उनको भनाइ थियो।यसैगरी, केही समयअघि ‘द ग्रेजोन’ नामक संस्थाले सार्वजनिक गरेको रिपोर्टमा उल्लेखित विषयप्रति पनि उनले सरकारको ध्यानाकर्षण गराए। रिपोर्टमा सत्तापक्षका केही नेताहरू विदेशी मुलुकबाट प्रशिक्षित भएर सरकारलाई प्रभावमा पारिरहेको भन्ने गम्भीर आरोप लगाइएको उल्लेख गर्दै उनले त्यसबारे सत्यतथ्य छानबिन गर्न माग गरे।उक्त आरोपको निष्पक्ष अनुसन्धान गरी संसद्लाई जानकारी गराउन तथा नागरिकको सार्वभौम अधिकारमा असर पार्ने कुनै गतिविधि भए त्यसलाई रोक्न सरकार गम्भीर बन्नुपर्ने दुलालले बताए।