काठमाडौं ।रसुवाको भोटेकोशीमा आएको बाढीपछि बेपत्ता भएका शिक्षक द्वारिकाप्रसाद दंगालकी श्रीमतीलाई उहाँकै रिक्त शिक्षक पदमा नियुक्त गर्न रास्वपा सांसद नीतिमा भण्डारीले सरकारसँग आग्रह गरेकी छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भण्डारीले सर्लाहीको हरिपुर–७, चिताइनस्थित श्री लक्ष्मीनाथ जनता आधारभूत विद्यालयमा कार्यरत दंगाल बाढीपछि सम्पर्कविहीन रहेको जानकारी गराइन्। लामो समय बितिसक्दा पनि उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेको उनले बताइन्।दंगाल परिवारको मुख्य आर्थिक सहारा रहेको उल्लेख गर्दै सांसद भण्डारीले उनी बेपत्ता भएपछि परिवारको आर्थिक अवस्था थप कमजोर बनेको बताइन्। उनकी श्रीमती मन्दिरा अधिकारी दंगाल हाल स्थानीय निजी विद्यालयमा अध्यापन गराइरहेको जानकारी दिँदै आवश्यक कानुनी प्रक्रिया पूरा गरेर श्रीमान्को रिक्त पदमा नियुक्त गर्ने विशेष व्यवस्था गर्न उनले सरकारलाई आग्रह गरिन्।
भोटेकोशी बाढीमा दंगालजस्तै विभिन्न क्षेत्रका धेरै व्यक्ति बेपत्ता भएको र उनीहरूका परिवार आर्थिक तथा सामाजिक संकटमा परेको सांसद भण्डारीको भनाइ छ। यस्तो अवस्थामा सरकारले प्रभावित परिवारलाई राहतसँगै दीर्घकालीन रोजगारी र सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने उनले बताइन्।बेपत्ता वा मृतकका परिवारका योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने नीति बनाउन सके विपत्तिमा परेका परिवारलाई राज्य उनीहरूको साथमा रहेको अनुभूति हुने उनको भनाइ छ।सांसद भण्डारीले दंगाल परिवारबाटै यस्तो विशेष व्यवस्थाको सुरुआत गर्न सरकारसँग आग्रह गर्दै विपत्तिपीडित परिवारका लागि रोजगारी र सामाजिक सुरक्षासम्बन्धी स्पष्ट नीति आवश्यक रहेकोमा जोड दिइन्।