काठमाडौं ।नेपाली कांग्रेसका सांसद खड्गबहादुर बुढाले जाजरकोटमा बाढी र पहिरोका कारण भएको जनधनको क्षतिबारे सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले लगातार भइरहेको वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रमा नागरिकले सामना गरिरहेको जोखिम र भौतिक क्षतिबारे सदनलाई जानकारी गराएका हुन्।सांसद बुढाका अनुसार नलगाड नगरपालिका–१० र ११ को सीमामा पर्ने ताक्सुगाड क्षेत्र अहिले निकै जोखिमपूर्ण बनेको छ। भदौ २९ गते आएको बाढीले बगाउँदा बारेकोट गाउँपालिका–४ का २६ वर्षीय रमेश सुनार बेपत्ता भएका छन्। यसअघि पनि सोही खोलामा बाढी आउँदा नलगाड–११ का रतनबहादुर दमाई बेपत्ता भएको उनले बताए।
बाढीका कारण जिल्लाका दर्जनौँ घरमा क्षति पुगेको छ भने झोलुङ्गे पुल र अस्थायी कजवेहरू समेत बगाएका छन्। भेरी करिडोरमा पनि ठूलो क्षति भएको सांसद बुढाले जानकारी दिए।त्यस्तै, रोली जिउलाको सिँचाइ नहरमा क्षति पुगेपछि स्थानीय किसानको धानबालीमा समेत प्रत्यक्ष असर परेको उनले बताए।भौतिक संरचनाको क्षतिसँगै नागरिकको ज्यानको सुरक्षालाई मुख्य चिन्ताको विषय बनाउँदै सांसद बुढाले जोखिमपूर्ण अवस्थामा नागरिकलाई आवतजावत गर्नुपर्ने बाध्यता हटाउन सरकारसँग आग्रह गरे।उनका अनुसार पुल बगिसकेपछि स्थानीयवासी जोखिम मोलेर खोलाबाटै आवतजावत गर्न बाध्य छन्। पक्की पुल निर्माणका लागि ठेक्का लागेको लामो समय बितिसक्दा पनि काम पूरा हुन नसक्नु नागरिकको जीवनसँग जोडिएको गम्भीर विषय भएको उनले बताए।