काठमाडौं ।प्रतिनिधि सभाको बैठकमा अस्पतालको आईसीयूभित्रै अन्तर्वार्ता लिइएको विषयले चर्चा पाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बाँस्कोटाले बैठकको आकस्मिक समयमा यस विषयमा सरकारको ध्यानाकर्षण गराएकी हुन्।उनले आईसीयू गम्भीर अवस्थामा रहेका बिरामीको उपचारका लागि प्रयोग हुने अत्यन्त संवेदनशील क्षेत्र भएको उल्लेख गरिन्। यस्तो स्थानमा बिरामीको गोपनीयता, स्वास्थ्य सुरक्षा र संक्रमण नियन्त्रणलाई विशेष प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
उपचाररत बिरामी रहेको आईसीयूभित्र अन्तर्वार्ता लिनु वा त्यसका लागि अनुमति दिनु उचित र नैतिक अभ्यास हो कि होइन भन्ने प्रश्न सांसद बाँस्कोटाले उठाइन्। उनका अनुसार यस्ता गतिविधिले बिरामीको संवेदनशीलता र अधिकारमा असर पार्न सक्छ।उनले मानव जीवनभन्दा कुनै पनि अन्तर्वार्ता, सामग्री वा भ्युज ठूलो हुन नसक्ने बताउँदै स्वास्थ्य संस्थाका संवेदनशील क्षेत्रमा अनावश्यक सामग्री निर्माणलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिइन्। बिरामीको अवस्थालाई टीआरपी वा सामाजिक सञ्जालको लोकप्रियतासँग जोडेर हेर्न नहुने उनको भनाइ छ।
सांसद बाँस्कोटाले अस्पतालमा उपचाररत बिरामीलाई अनावश्यक असहजता वा हैरानी नहुने व्यवस्था गर्न सरकारसँग आग्रह गरिन्। साथै, मेडिकल नेग्लिजेन्ससँग सम्बन्धित विभिन्न पक्षलाई समेटेर छुट्टै ‘मेडिकल नेग्लिजेन्स ऐन’ ल्याउनुपर्ने माग पनि उनले राखिन्।आईसीयूमा बिरामीको गोपनीयता, सुरक्षा र संवेदनशीलता कायम गर्ने विषयमा स्पष्ट प्रोटोकल तथा मापदण्ड बनाउन आवश्यक रहेको उनले बताइन्।