काठमाडौँ ।फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी का स्टार उस्मान डेम्बेलेले आफ्नो फुटबल करिअरमा आफूलाई कहिल्यै ‘पहिलो रोजाइ’को खेलाडीका रूपमा नहेरिएको बताएका छन्।
पीएसजीले ब्रेस्टलाई एक–शून्य गोलले पराजित गरेपछि डेम्बेलेसँग लगातार दोस्रोपटक बालोन डी’ओर जित्ने सम्भावनाबारे प्रश्न गरिएको थियो। जवाफमा उनले आफ्नो करिअरको सुरुवाती संघर्ष र निरन्तर मेहनत सम्झिँदै आफूले चर्चाभन्दा प्रदर्शनमा ध्यान दिएको बताए।डेम्बेलेका अनुसार उनी सधैँ चर्चाको केन्द्रमा रहने खेलाडी थिएनन्। आफूलाई कक्षाको पछिल्लो बेन्चमा बसेर मेहनत गर्ने विद्यार्थीको उदाहरण दिँदै उनले वर्षौँसम्म आफ्नो खेल सुधार्न निरन्तर मिहिनेत गरेको बताए।
उनले भने, ‘मलाई करिअरभरि पहिलो रोजाइको खेलाडीका रूपमा हेरिएन। तर मैले मेहनत गर्न छाडिनँ। पीएसजीसँग उत्कृष्ट सिजन बिताएपछि त्यसको पुरस्कारका रूपमा बालोन डी’ओर पाएँ।’आगामी बालोन डी’ओरको विषयमा भने डेम्बेलेले आफूलाई कुनै दबाब नभएको बताएका छन्। यसपटक के हुन्छ भन्ने कुरा समयले देखाउने भन्दै उनी सहज रूपमा खेलमा केन्द्रित रहेको उनको भनाइ छ।
यसअघि रियल मड्रिडका फ्रान्सेली स्टार केलियन एम्बाप्पेले आफूलाई सुरुदेखि नै फुटबलमा उच्च अपेक्षा राखिएको खेलाडीका रूपमा हेरिएको बताएका थिए। उनले गत सिजन आफ्नो प्रदर्शन उत्कृष्ट रहेको दाबी गर्दै आफूभन्दा राम्रो खेलाडी नरहेको धारणा व्यक्त गरेका थिए।डेम्बेलेले भने आफूलाई त्यस्तो विशेषाधिकार प्राप्त नभएको संकेत गरेका छन्।गत साता डेम्बेलेले बालोन डी’ओरका सम्भावित दाबेदारमा ह्यारी केन, ख्विचा क्वारात्स्खेलिया र केलियन एम्बाप्पेको नाम लिएका थिए। यद्यपि, उनले यसपटक पनि ट्रफी पीएसजीकै कुनै खेलाडीले जित्ने सम्भावना रहेको बताएका छन्।
गत सिजन डेम्बेले पीएसजीका लागि उत्कृष्ट लयमा थिए। उनले सबै प्रतियोगिता गरी ३५ गोल गरेका थिए। उनको प्रभावशाली प्रदर्शनमा पीएसजीले फ्रान्सेली लिग, कोपा डे फ्रान्स र क्लब इतिहासकै पहिलो च्याम्पियन्स लिग उपाधि जितेको थियो।च्याम्पियन्स लिगको फाइनलमा पीएसजीले इन्टर मिलानलाई पाँच–शून्यले पराजित गरेको थियो। उत्कृष्ट सिजनपछि डेम्बेले बालोन डी’ओर जित्ने छैटौँ फ्रान्सेली खेलाडी बनेका थिए।उता, सन् २०२४ मा पीएसजी छाडेर रियल मड्रिड पुगेका एम्बाप्पेले स्पेनिस क्लबमा पहिलो सिजन सबै प्रतियोगितामा ४४ गोल गरेका थिए। तर सन् २०२५ को बालोन डी’ओर मतदानमा उनी सातौँ स्थानमा सीमित भएका थिए।