काठमाडौँ । हरितालिका तीजको अवसर पारेर नेपाली फिल्म ‘आ बाट आमा २’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ ।
सार्वजनिक पोस्टरले परिवारबाट टाढिएका सन्तान, आमाको प्रतीक्षा र बदलिँदो सामाजिक अवस्थालाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ ।पोस्टरमा अभिनेता पल शाह र साइग्रेस पोखरेललाई एकातर्फ खुसी मुद्रामा देखाइएको छ भने अर्को दृश्यमा उनीहरूलाई आमाले अँगालो हालेर भावुक भएको देखिन्छ । निधारमा रातो टीका र जमरा लगाएका युवालाई आमाले अँगालो हालेको दृश्यले पारिवारिक सम्बन्ध र विछोडको भावलाई केन्द्रमा राखेको संकेत गर्छ ।फिल्ममा पल शाहसँगै मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलिप अखेडालगायत कलाकारको अभिनय रहेको छ ।
यसअघि प्रदर्शनमा आएको ‘आ बाट आमा’ को सफलतापछि यसको दोस्रो भाग निर्माण गरिएको हो । फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका छन् भने आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको हो ।फिल्म असोज ३० गते फूलपातीका दिनदेखि प्रदर्शनमा आउने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ । नेपालमा फिल्मको वितरणको जिम्मेवारी आरआर फिल्मले लिएको छ ।