काठमाडौं । अभिनेत्री निता ढुङ्गाना निर्देशित फिल्म ‘पार्वती’ तेस्रो सातामा प्रदर्शन भइरहेको छ।
फिल्मको निर्माण पक्षले शनिबार काठमाडौंमा विशेष शो आयोजना गरेको थियो, जहाँ कलाकार, समाजसेवी तथा सञ्चारकर्मीलगायतको सहभागिता थियो।
बानेश्वरस्थित आइप्लेक्स महलको वान सिनेमाजमा आयोजित विशेष प्रदर्शनपछि वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले फिल्ममा निता ढुङ्गानाले गरेको अभिनयको प्रशंसा गरे। अटिजम भएकी युवतीको भूमिकामा प्रस्तुत भएकी नितालाई पर्दामा आफूले वास्तविक निताभन्दा फरक रूपमा महसुस गरेको उनको भनाइ थियो।
श्रेष्ठले निताको अभिनय आफूले अपेक्षा गरेभन्दा निकै प्रभावशाली पाएको बताए। फिल्मको सुरुदेखि अन्त्यसम्म उनले आफ्नो पात्रलाई निरन्तर प्रभावकारी ढंगले प्रस्तुत गरेको श्रेष्ठको प्रतिक्रिया थियो।संविधानविद् तथा वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले पनि निताको अभिनय उच्चस्तरको रहेको बताए। आफूले यसअघि त्यस्तो स्तरको अभिनय नदेखेको उल्लेख गर्दै उनले फिल्मले उठाएको विषय र यसको सन्देश निकै महत्वपूर्ण रहेको प्रतिक्रिया दिए।
हास्यकलाकार किरण केसी ‘रातामकै’ले फिल्मको कथावस्तु आफूलाई विशेष रूपमा बलियो लागेको बताए। कार्यक्रममा सहभागी जितु नेपाल, सञ्चारकर्मी प्रकाश सुवेदी, नरेश भट्टराईलगायतले पनि फिल्म र कलाकारको अभिनयको प्रशंसा गरेका थिए।भदौ १२ गतेदेखि प्रदर्शनमा आएको ‘पार्वती’मा निता ढुङ्गाना र अशोक दर्जी मुख्य भूमिकामा छन्। फिल्मले अटिजम भएकी दिदी र भाइबीचको भावनात्मक सम्बन्धलाई कथाको केन्द्रमा राखेको छ। फिल्मको निर्देशन स्वयं निता ढुङ्गानाले गरेकी हुन्।