काठमाडौं । अविनाश विक्रम शाहको निर्देशनमा बनेको नेपाली फिल्म तिनीहरू एलिफेन्ट्स इन द फग आगामी एकेडेमी अवार्ड अर्थात् अस्करका लागि नेपालको प्रतिनिधि फिल्म बनेको छ।
नेपालबाट अस्करको अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा सहभागी हुन दुई चलचित्रले आवेदन दिएका थिए। छनोट समितिले ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ र ‘गौंथली’मध्ये शाह निर्देशित चलचित्रलाई नेपालको तर्फबाट प्रतिस्पर्धामा पठाउने निर्णय गरेको हो।समितिका अनुसार दुवै चलचित्रको मूल्यांकन गर्दा कथावस्तुको प्रस्तुति, प्राविधिक गुणस्तर, पात्रहरूको भावनात्मक पक्ष र फिल्मको कलात्मक पक्षलाई मुख्य आधार बनाइएको थियो।अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति नेपालका अध्यक्ष लक्ष्मीनाथ शर्माले जारी गरेको विज्ञप्तिमार्फत फिल्म छनोट भएको जानकारी दिइएको हो।
चलचित्रमा पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, अलिज घिमिरे, आशान्त शर्मा, गौरी मल्ल र माओत्से गुरुङलगायत कलाकारको अभिनय रहेको छ।‘तिनीहरू एलिफेन्ट्स इन द फग’ले यसअघि नै अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हासिल गरिसकेको छ। फिल्म कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट हुनुका साथै सोही विधामा जुरी पुरस्कार जित्न सफल भएको थियो।कान्समा पुरस्कार जित्ने पहिलो नेपाली फिल्मको इतिहास बनाएको यो चलचित्र अहिले नेपालका हलहरूमा प्रदर्शन भइरहेको छ। अब फिल्मले सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्डको अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालको प्रतिनिधित्व गर्नेछ।