काठमाडौं ।प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउने बताएका छन्।
शुक्रबार सिंहदरबारमा उद्योगी तथा व्यवसायीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले लगानी र व्यवसाय विस्तारका लागि आवश्यक वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन्। छलफलमा निजी क्षेत्रले उद्योग–व्यवसाय सञ्चालनका क्रममा भोगिरहेका समस्या तथा चुनौतीबारे प्रधानमन्त्रीले जानकारी लिएका थिए।रास्वपा सांसद विदुषी राणाका अनुसार प्रधानमन्त्री शाहले नेपालमा लगानीको प्राथमिकतामा पहिले स्वदेशी व्यवसायी, त्यसपछि गैरआवासीय नेपाली र तेस्रो प्राथमिकतामा विदेशी लगानी रहने धारणा राखेका छन्।व्यवसायीहरूले ठूला पूर्वाधार निर्माणमा नेपाली निजी क्षेत्र सक्षम रहेको भन्दै आवश्यक नीतिगत तथा कानुनी सुधार गर्न सरकारसँग आग्रह गरेका थिए। अर्थतन्त्रमा निजी क्षेत्रको ठूलो योगदान रहेकाले व्यवसायीको मनोबल बढाउने वातावरण बनाउनुपर्ने उनीहरूको जोड थियो।
त्यस्तै, आरोप लाग्नेबित्तिकै व्यवसायीलाई पक्राउ तथा थुनामा राख्ने प्रवृत्तिले निजी क्षेत्रको मनोबल कमजोर बनाएको गुनासोसमेत व्यवसायीहरूले गरेका थिए।निजी क्षेत्रका समस्या, कानुनी सुधार र लगानीको वातावरणबारे समीक्षा गर्न प्रधानमन्त्री कार्यालयले हरेक तीन महिनामा निजी क्षेत्रसँग नियमित छलफल गर्ने समझदारी भएको सांसद राणाले जानकारी दिइन्।