काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ।
बैठकमा पार्टी महासचिव शंकर पोखरेलले यसअघि तयार पारेको ‘पार्टी सुदृढीकरण, रूपान्तरण र पुनर्जागरण’ सम्बन्धी प्रतिवेदनमाथि छलफल हुने बताइएको छ। उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आवश्यक पुनर्लेखनसहित उक्त प्रतिवेदन बैठकमा प्रस्तुत गर्ने तयारी गरेका छन्।गत फागुन २१ गते सम्पन्न निर्वाचनमा एमालेले अपेक्षाकृत कमजोर परिणाम बेहोरेपछि पार्टीभित्र समीक्षा र पुनर्गठनको प्रक्रिया अघि बढाइएको हो।यसैक्रममा जेठको पहिलो साता बसेको केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष बादलको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो।कार्यदलले निर्वाचनमा पार्टीले भोगेको पराजयका कारण, संगठनको अवस्था तथा आगामी दिनमा पार्टीलाई थप सुदृढ बनाउने उपायबारे अध्ययन गरिरहेको छ। बैठकबाट पार्टीको संगठनात्मक सुधार र पुनर्गठनका विषयमा थप ठोस प्रस्ताव अघि बढ्ने अपेक्षा गरिएको छ।