काठमाडौं । राजविराजमा एक महिलाले अस्पतालको गेटबाहिर सडकपेटीमै बच्चा जन्माउनुपरेको घटनाप्रति बसना थापाले गम्भीर आपत्ति जनाएकी छन्।
उनले उक्त घटनाले नेपालको स्वास्थ्य प्रणाली, सुरक्षित मातृत्वको अधिकार र राज्यको जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको बताएकी छन्। थापाले प्रसव पीडामा रहेकी महिलाले अस्पतालको ढोकामै सुरक्षित प्रसूति सेवा पाउन नसक्नु दुःखद भएको बताउँदै स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार भएकाले आर्थिक अवस्थाका आधारमा सेवा प्राप्तिमा विभेद हुन नहुने धारणा राखेकी छन्।
उनले महिलाको सुरक्षित मातृत्वको अधिकार व्यवहारमै सुनिश्चित हुनुपर्नेमा जोड दिँदै गरिब तथा विपन्न नागरिकले उपचार नपाउने अवस्था आउनु राज्यको स्वास्थ्य प्रणालीको कमजोरी भएको बताएकी छन्। थापाले उक्त घटना एउटा अस्पतालको मात्र विषय नभई राज्यको स्वास्थ्य नीति, सेवा प्रवाह र अनुगमन प्रणालीसँग जोडिएको विषय भएको बताएकी छन्। अस्पतालमा पुगेकी प्रसूति महिलाले सुरक्षित उपचार नपाई सडकमा बच्चा जन्माउनुपर्ने अवस्था आउँदा सम्बन्धित अस्पतालसँगै सरकारका जिम्मेवार निकायले पनि जवाफ दिनुपर्ने उनको भनाइ छ।
उनले घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने, दोषी देखिए जिम्मेवार पक्षमाथि कारबाही गर्नुपर्ने र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन स्वास्थ्य सेवा प्रणालीमा आवश्यक सुधार गर्नुपर्ने माग गरेकी छन्। “अब सामाजिक सञ्जालमा रिल होइन, जवाफदेहिता चाहिन्छ। छानबिन चाहिन्छ। सुधार चाहिन्छ। र सबैभन्दा महत्वपूर्ण, यस्तो घटना फेरि नदोहोरिने सुनिश्चितता चाहिन्छ,” थापाले भनेकी छन्।
थापाले संविधान र कानूनले सुनिश्चित गरेको सुरक्षित मातृत्व तथा स्वास्थ्यसम्बन्धी अधिकार कागजमा मात्र सीमित नभई व्यवहारमै कार्यान्वयन हुनुपर्ने बताएकी छन्। उनका अनुसार आर्थिक रूपमा कमजोर भएकै कारण कुनै पनि महिला प्रसूति सेवाबाट वञ्चित हुने अवस्था आउनु हुँदैन। राज्यले स्वास्थ्य सेवा सबै नागरिकका लागि समान र सहज रूपमा उपलब्ध हुने सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिएकी छन्।