काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन तथा सरकार सञ्चालनको शैलीलाई लिएर भइरहेको आलोचनाप्रति आफ्नो धारणा सार्वजनिक गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत उनले लामो समयदेखि वास्तविक अवस्था नबुझी कार्यालयमै बसेर नेतृत्व गर्ने अभ्यासको परिणाम अहिले देखिएको बताएका हुन्।गृहमन्त्री गुरुङले पुरानो कार्यशैलीबाट फरक ढंगले काम गर्दै नयाँ परिणाम निकाल्ने प्रयास भइरहेका बेला केही पक्षले आफूहरूलाई फेरि परम्परागत शैलीमै फर्किन दबाब दिइरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।उनका अनुसार मन्त्रालयको कुर्सीमा बसेर कागजात हेर्नुलाई मात्रै नेतृत्व ठान्ने सोच अहिलेको समयअनुकूल छैन। नेतृत्वको मूल्याङ्कन कामको परिणाम र प्रभावका आधारमा हुनुपर्ने उनको भनाइ छ।गुरुङले विपद् प्रतिकार्यका लागि स्थापना गरिएको कमान्ड सेन्टर प्रभावकारी रूपमा सञ्चालन भइरहेको दाबी गरेका छन्। विषयगत मन्त्रालयका उच्च अधिकारीहरूको सहभागितामा नियमित रूपमा रणनीतिक बैठक तथा समन्वयको काम भइरहेको उनले बताएका छन्।उनले प्रत्येक चार घण्टामा अनलाइन माध्यमबाट कमान्ड सञ्चालन र रणनीतिक बैठक गर्ने गरिएको जानकारी दिँदै डिजिटल प्रविधिको प्रयोगले प्रशासनिक कामदेखि उद्धार तथा विपद् प्रतिकार्यसम्मका गतिविधि छिटो र प्रभावकारी बनाउन सहयोग पुगेको दाबी गरेका छन्।आफू भौतिक रूपमा कहाँ बसेर काम गरिरहेको छु भन्ने विषयभन्दा सरकारको कामबाट प्राप्त परिणामलाई प्राथमिकता दिन उनले आग्रह गरेका छन्। पुरानो प्रणालीबाट फरक परिणाम खोज्ने तर काम गर्ने शैली भने पुरानै हुनुपर्छ भन्ने दबाब विरोधाभासपूर्ण रहेको उनको टिप्पणी छ।