काठमाडौँ । तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कपअन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा आज (सोमबार) बहराइनको सामना गर्दैछ। मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा हुने यो खेल बिहान ७ः१५ बजेदेखि सुरु हुँदैछ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलोपटक बहराइनविरुद्ध खेल्न लागेको हो। प्रतियोगिताको पहिलो खेलमै बहराइनलाई पराजित गर्दै नेपाल उत्कृष्ट सुरुआत गर्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ। जारी प्रतियोगितामा प्रत्येक समूहबाट शीर्ष दुई टोलीले मात्र सेमिफाइनलमा ठाउँ बनाउने भएकाले समूह चरणका सबै चार खेल टोलीका लागि अत्यन्त महत्त्वपूर्ण मानिएका छन्।
नेपाली टोलीका पूर्वक्रिकेटर शरद भेषवाकरले प्रतियोगितामा सहभागी कुनै पनि टोलीलाई कमजोर रूपमा लिन नहुने बताएका छन्। एसिसी प्रिमियर कप खेल्ने १० वटै टोली बलिया रहेको र नेपालले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्नेमा आफू आशावादी रहेको उनको भनाइ छ। नेपालले प्रतियोगिताअघि मलेसियाविरुद्ध खेलिएका दुवै अभ्यास खेलहरू जित्दै मनोबल उच्च बनाएको छ।
प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोली मलेसियामा रहेको छ। टोलीमा कप्तान लामिछानेसहित आसिफ शेख, अर्जुन कुमाल, देव खनाल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, सन्दीप जोरा, ईशान पाण्डे, गुलशनकुमार झा, ललितनारायण राजवंशी, करण केसी, हेमन्त धामी र शेर मल्ल रहेका छन्।