काठमाडौँ । पिकलबल विश्वकपको तेस्रो संस्करणमा सहभागिता जनाउन १८ सदस्यीय नेपाली राष्ट्रिय पिकलबल टोली बिहीबार भियतनाम प्रस्थान गरेको छ। टोलीलाई पिकलबल एसोसिएसन नेपालका उपाध्यक्ष टिका भण्डारीलगायतका पदाधिकारी तथा शुभेच्छुकहरूले बिदाइ गर्दै अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गरेका छन्।
विश्वका विभिन्न देशका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहने यस प्रतियोगिताका लागि प्रस्थान गर्ने नेपाली टोलीमा सौरभ भण्डारी, ज्याक्सन सुवेदी, सन्देश श्रेष्ठ, उमिद शेर्पा, उगेन शेर्पा, दावा शेर्पा, राधेश्याम मचामसी, महेश शर्मा, सरुसा मगर, डा. दीक्षा राणा, सञ्जिल कन्साकार, किरण खनाल, हर्ष सागर तुलाधर, मणिकरत्न शाक्य, दिलभूषण पाठक, फत्तेबहादुर खड्का, शर्मिला केसी र प्रतिमा प्रधान रहेका छन्।
नेपालमा भोटेकोशीको बाढीका कारण ठूलो जनधनको क्षति भई देश शोकमा परेको कठिन परिस्थितिबिच मन भारी बनाएर यात्रा सुरु गर्नुपरेको पिकलबल एसोसिएसन नेपालका अध्यक्ष सौरभ भण्डारीले बताएका छन्। विपद्को पीडालाई मनमा राख्दै राष्ट्रको प्रतिनिधित्व गर्ने जिम्मेवारीलाई गम्भीरताका साथ लिएर विश्वमञ्चमा नेपालको शिर उचो बनाउने प्रतिबद्धता खेलाडीहरूले व्यक्त गरेका छन्।