काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद्को समयमा पार्टीका कार्यकर्तालाई खोज, उद्धार तथा राहतका काममा परिचालन गर्न कांग्रेस तयार रहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को पहलमा आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले राष्ट्रिय संकटका बेला राजनीतिक दलहरूबीच सहकार्य गर्ने परम्परालाई निरन्तरता दिनुपर्ने बताए।उनका अनुसार बैठकमा सरकारबाट भइरहेको खोज तथा उद्धार अभियानको अवस्थाबारे जानकारी लिइएको थियो। साथै, विभिन्न स्रोतबाट प्राप्त सूचना र दलहरूले संकलन गरेका विवरण सरकारलाई उपलब्ध गराएर विपद् व्यवस्थापनमा थप सहयोग पुर्याउने विषयमा छलफल भएको थियो।थापाले अहिलेको अवस्थामा बाढीका कारण हराइरहेका नागरिकको खोजी, उद्धार र प्रभावितलाई तत्काल राहत उपलब्ध गराउनु सबैभन्दा महत्वपूर्ण रहेको बताए। त्यसका लागि राज्यका सुरक्षा निकाय, प्रशासनलगायत संयन्त्र परिचालन भइरहेको उनले जानकारी दिए।सरकारसँग उपलब्ध नियमित स्रोतसाधनका अतिरिक्त आवश्यकता परे राजनीतिक दल, नागरिक समाज तथा अन्य क्षेत्रसँग रहेका जनशक्ति र साधनसमेत परिचालन गर्न सकिने व्यवस्था आवश्यक रहेको थापाको भनाइ छ।
उनले सरकारबाट आग्रह भए कांग्रेस आफ्ना कार्यकर्तालाई प्रभावित क्षेत्रमा खटाउन तयार रहेको स्पष्ट पारे। विशेषगरी सडक तथा बाटो सफा गर्ने, खोजी र उद्धारमा सहयोग गर्ने तथा आवश्यक राहत व्यवस्थापनमा पार्टीको जनशक्ति प्रयोग गर्न सकिने उनले बताए।थापाका अनुसार कांग्रेसले पार्टीभित्र विपद् व्यवस्थापनका लागि विभिन्न संरचना बनाएको छ। अब सरकारको आवश्यकता र समन्वयका आधारमा ती संरचनामार्फत कार्यकर्ता परिचालन गरिनेछ।सरकारले जहाँ र जस्तो सहयोग आवश्यक ठान्छ, त्यहीअनुसार पार्टीका विपद् संरचनालाई परिचालन गर्ने’ विषयमा कांग्रेस प्रतिबद्ध रहेको थापाले बताए।उनले राष्ट्रिय विपत्तिको समयमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा र उद्धारलाई प्राथमिकतामा राखेर सबै दल एकजुट भएर काम गर्नुपर्नेमा जोड दिए।