काठमाडौं ।जनता समाजवादी पार्टी जसपा नेपालको लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्य अम्बिका काफ्लेलाई दलबाट निष्कासन गर्दै प्रदेशसभा सदस्य पदबाट समेत हटाउने प्रक्रिया अघि बढाउन पार्टी केन्द्रसमक्ष सिफारिस गरेको छ।
लुम्बिनी प्रदेश संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयले भदौ ८ गते पार्टीको केन्द्रीय कार्यसमितिलाई पत्र पठाउँदै काफ्लेलाई कारबाही गर्न सिफारिस गरेका हुन्। संसदीय दलले सोही दिन प्रदेशसभा सचिवालयलाई पनि पत्र पठाएर काफ्लेलाई प्रदेशसभा सदस्यबाट हटाउने प्रक्रिया अघि बढाउन आग्रह गरेको जनाएको छ।जसपा नेपालका अनुसार नेपाली कांग्रेस लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई नयाँ राजनीतिक समीकरणका आधारमा निरन्तरता दिने निर्णय भएको थियो। त्यसअनुसार जसपा नेपालले मुख्यमन्त्री आचार्यलाई समर्थन गर्ने निर्णय गर्दै प्रदेशसभामा प्रस्तुत विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई निर्देशन दिएको थियो।तर, अम्बिका काफ्ले दलको निर्देशनअनुसार विश्वासको मतसम्बन्धी बैठकमा सहभागी नभएको संसदीय दलको आरोप छ। दलले जारी गरेको ह्विप उल्लङ्घन गर्दै बैठकमा अनुपस्थित भएको विषयलाई लिएर उनीसँग स्पष्टीकरण मागिएको थियो।
संसदीय दलका अनुसार भदौ २ गते पहिलोपटक स्पष्टीकरण मागिए पनि काफ्लेले जवाफ दिइनन्। त्यसपछि भदौ ५ गते पुनः २४ घण्टाभित्र जवाफ दिन समय दिइएको थियो। तर, त्यसमा पनि चित्तबुझ्दो स्पष्टीकरण नआएको दलको दाबी छ।दलको निर्देशन पालना नगरी संसदीय दलको निर्णय तथा अनुशासन उल्लङ्घन गरेको निष्कर्ष निकाल्दै काफ्लेलाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को सम्बन्धित व्यवस्थाअनुसार कारबाही अघि बढाउन सिफारिस गरिएको हो।अब काफ्लेलाई प्रदेशसभा सदस्यबाट हटाउने विषयमा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय आवश्यक हुनेछ। प्रदेशसभा सचिवालयलाई भने केन्द्रबाट अन्तिम निर्णय नआएसम्म काफ्लेलाई प्रदेशसभा सदस्यका रूपमा कायम नराख्न संसदीय दलले अनुरोध गरेको जनाएको छ।