काठमाडौं । नेकपा एमालेको पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यदलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणसम्बन्धी विवादलाई चुनावी पराजयका कारणमध्ये एकका रूपमा औंल्याएको छ।
महासचिव शंकर पोखरेलले तयार गरी कार्यदलका संयोजक रामबहादुर थापालाई बुझाएको प्रतिवेदनमा एमालेले निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसक्नुका विभिन्न कारण समेटिएका छन्। प्रतिवेदनमा पार्टीभित्र देखिएको आन्तरिक विवाद र गुटगत गतिविधिलाई पनि प्रमुख कारणका रूपमा उल्लेख गरिएको छ।प्रतिवेदनमा भण्डारीको पार्टी सदस्यता नवीकरणको विषयले एमालेको संगठनभित्र विभाजनको अवस्था सिर्जना गरेको उल्लेख छ। सदस्यता नवीकरण गर्ने वा नगर्ने विषयमा पार्टीभित्र फरक मत देखिँदा त्यसको प्रभाव पार्टी पंक्तिमा परेको निष्कर्ष प्रतिवेदनको छ।एमालेले पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि त्यसले पार्टीभित्रै बहस र विवाद जन्माएको थियो। पार्टीको एउटा समूहले भण्डारीको सदस्यता रोक्ने निर्णयप्रति असहमति जनाउँदै आएको थियो।
सदस्यता नवीकरण नभएका कारण भण्डारी एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन नपाएको विषय पनि प्रतिवेदनमा समेटिएको छ। त्यसै क्रममा तत्कालीन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भण्डारीको समर्थनमा छुट्टै समूह बनाएर महाधिवेशनमा प्रतिस्पर्धा गरेको विषयलाई समेत संगठनभित्रको गुटबन्दीसँग जोडिएको छ।प्रतिवेदनले निर्वाचन नजिकिँदै गर्दा भएको एमालेको ११औँ महाधिवेशनमा प्यानल बनाएर प्रतिस्पर्धा हुँदा त्यसको असर पार्टीको तल्लो तहसम्म पुगेको निष्कर्ष निकालेको छ। यसले संगठनभित्र विभाजन र गुटगत ध्रुवीकरणलाई थप बढाएको कार्यदलको प्रतिवेदनमा उल्लेख छ।यसरी पूर्वराष्ट्रपति भण्डारीको सदस्यता विवाद, महाधिवेशनमा भएको प्यानलगत प्रतिस्पर्धा तथा त्यसबाट उत्पन्न आन्तरिक ध्रुवीकरणलाई एमालेको चुनावी पराजयसँग जोडेर प्रतिवेदनमा विश्लेषण गरिएको छ।