काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सांसद गणेश पराजुलीले युवाहरूलाई सरकारी निकायमै पारिश्रमिकसहितको इन्टर्नसिप उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले मन्त्रालय, विभाग तथा अन्य सरकारी कार्यालयमा निश्चित कार्यादेशसहित युवाका लागि पेड इन्टर्नसिप कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका हुन्।हरेक वर्ष ठूलो संख्यामा विद्यार्थी अध्ययन पूरा गरेर रोजगारी बजारमा प्रवेश गर्ने भए पनि रोजगारदाताले अनुभव खोज्ने गरेको भन्दै उनले ‘काम पाउन अनुभव चाहिने, तर अनुभवका लागि काम नै नपाइने’ समस्या अन्त्य गर्न यस्तो व्यवस्था आवश्यक रहेको बताए।
पराजुलीले सूचना प्रविधि, डेटा साइन्स, एआईलगायत क्षेत्रमा दक्ष युवा अवसरको खोजीमा विदेशिन बाध्य भइरहेको उल्लेख गर्दै उनीहरूलाई स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए।उनका अनुसार सरकारी निकायमा निश्चित संख्यामा युवालाई खुला प्रतिस्पर्धाबाट छनोट गरी तोकिएको अवधिका लागि पारिश्रमिकसहित इन्टर्नसिप दिन सकिन्छ। यसले युवालाई वास्तविक कार्यअनुभव दिलाउनुका साथै सरकारी संयन्त्रमा नयाँ प्रविधि र ज्ञान भित्र्याउन सहयोग पुग्ने उनको भनाइ छ।