काठमाडौं । श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी सङ्ग्रौलाले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको सुरुवाती चरणमै सरकारको आर्थिक नीति असफल हुने संकेत देखिएको दाबी गरेकी छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि व्यवसायीहरू ऋण लिएर लगानी गर्न उत्साहित नहुनु सरकारको आर्थिक नीतिप्रतिको विश्वास कमजोर भएको संकेत भएको बताइन्।सांसद सङ्ग्रौलाले अर्थमन्त्री डा: स्वर्णिम वाग्लेको आर्थिक नीतिमाथि प्रश्न उठाउँदै सरकारले देशको वास्तविक आर्थिक अवस्थालाई बुझ्न नसकेको आरोप लगाइन्। उनले बजेट कार्यान्वयन सुरु भएको छोटो समयमै यसको कमजोरी देखिन थालेको दाबी गरिन्।उनका अनुसार बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम उपलब्ध हुँदाहुँदै पनि निजी क्षेत्र लगानीका लागि अघि नबढ्नु अर्थतन्त्रमा देखिएको गम्भीर समस्या हो। यस्तो अवस्थाले सरकारको आर्थिक नीतिप्रति व्यवसायीको भरोसा कमजोर रहेको देखाउने उनको भनाइ छ।सङ्ग्रौलाले सरकार गठन भएयता नेपालको पुँजीबजारमा ठूलो रकम गुमेको दाबी गर्दै शेयर बजारको समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने माग गरिन्।उनले अर्थमन्त्रीले पुँजीबजारका समस्या समाधान गर्न प्रभावकारी कदम चाल्न नसकेको आरोपसमेत लगाइन्। सरकारले आर्थिक गतिविधि बढाउने, निजी क्षेत्रको विश्वास कायम गर्ने र लगानीको वातावरण सुधार्ने दिशामा तत्काल काम गर्नुपर्नेमा उनले जोड दिइन्।