काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले विगतको ३५ वर्षको हिसाबकिताब गर्नुभन्दा अबको ३५ वर्षको योजना बनाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
आइतबार पार्टीको ‘नीति, संगठन र नेतृत्व’ विषयक कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले विगतका कमजोरीको आलोचना गर्नुभन्दा आगामी दिनमा देशलाई कुन दिशामा लैजाने भन्ने स्पष्ट योजना बनाउनुपर्ने बताएका हुन्।“अब बितेका ३५ वर्षको हिसाबको कुरा गर्ने होइन साथीहरू, अबको ३५ वर्षको योजना ल्याउनुस्,” उनले भने।विगतमा केही गर्न नसकिएको भए पनि अब त्यसको दोषारोपणमा समय खर्च गर्न नहुने लामिछानेको भनाइ थियो। उनले विगतमा भएका कामका लागि धन्यवाद दिँदै आगामी पुस्ता र देशको भविष्यका लागि नयाँ योजना र दृष्टिकोण आवश्यक रहेको बताए।उनले अबको ३५ वर्षमा देशलाई कहाँ पुर्याउने भन्ने जिम्मेवारी रास्वपाको हातमा रहेको दाबी गरे। आम नागरिकले पार्टीप्रति ठूलो विश्वास गरेको भन्दै उनले नागरिकको विश्वास घट्न नदिन नेता तथा कार्यकर्तालाई सचेत गराए।लामिछानेले रास्वपाका नेता तथा कार्यकर्तालाई लोकतन्त्रलाई कमजोर बनाउने कुनै पनि गतिविधि नगर्नसमेत निर्देशन दिए। पार्टीका अभिव्यक्ति र गतिविधिले लोकतान्त्रिक व्यवस्थालाई कमजोर पार्न नहुने उनको भनाइ थियो। “हाम्रा अभिव्यक्ति र क्रियाकलापले लोकतन्त्रलाई कमजोर बनाउने काम नगरोस्,” लामिछानेले भने। उनले कहिलेकाहीँ आफ्नै परिवारका सदस्यलाई समेत सम्झाउनुपर्ने अवस्था आउने भन्दै आफ्नो भनाइ असन्तुष्टि नभई चिन्ताका रूपमा लिन आग्रह गरे।लामिछानेले सरकार मात्र बलियो भएर नपुग्ने भन्दै प्रतिपक्ष पनि बलियो हुनुपर्ने बताए। लोकतन्त्रलाई सुदृढ बनाउन सरकार र प्रतिपक्ष दुवै जिम्मेवार र प्रभावकारी हुनुपर्ने उनको भनाइ थियो।