काठमाडौँ । चलचित्र ‘प्रेमगीत’का निर्देशक सुदर्शन थापा र अभिनेता प्रदीप खड्का आठ वर्ष लामो तिक्तता अन्त्य गर्दै नयाँ चलचित्रमा एकसाथ फर्किएका छन्। सुदर्शनको निर्देशनमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘शुभ विवाह’को आइतबार बिहान पर्यटकीय नगरी पोखरामा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै औपचारिक छायांकन (सुटिङ) सुरु गरिएको छ। छायांकनको पहिलो दिन पोखरामा अभिनेता प्रदीप खड्का र अभिनेत्री सनिशा भट्टराईले पहिलो सट दिएका हुन्।
प्रियदर्शन फिल्म्सको ब्यानरमा सुप्रिया कटुवालले निर्माण गर्न लागेको यस चलचित्रको लगातार ४५ दिनसम्म छायांकन गरिने योजना छ। चलचित्रमा प्रदीप र सनिशाका साथै वरिष्ठ कलाकारहरू हरिहर शर्मा, बसुन्धरा भुसाल, विशाल पहारी, अन्शु महर्जन, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुङ्गाना, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईँ, आश्मा गिरी, रामेश्वर रिजाल, र सुहान श्रेष्ठलगायतको अभिनय रहनेछ।
चलचित्रका कार्यकारी निर्माता साम भुजेल हुन्। प्रदीप श्रीवास्तवको कथा तथा रामशरण पाठकको पटकथा र संवाद रहेको यस चलचित्रमा अर्जुन पोखरेलको संगीत, रेभन आरती सिंहको पाश्र्व संगीत, राजेश श्रेष्ठको छायांकन, मिलन श्रेष्ठको सम्पादन र विक्रम स्वारको नृत्य निर्देशन रहनेछ। विसं २०७२ मा प्रदर्शनमा आएको ‘प्रेमगीत’ पछि सुदर्शन र प्रदीपबिच सम्बन्धमा तिक्तता आएको थियो।
लामो समयको दूरी र केही अफरहरू असफल भएपछि अन्ततः ‘शुभ विवाह’मार्फत यो जोडी पुनः एक ठाउँमा आएको हो, जसलाई चलचित्र वृत्तमा निकै चासोका साथ हेरिएको छ। ४५ दिनको छायांकन तालिका तोकिएको यो चलचित्र आगामी महाशिवरात्रिको अवसर पारेर फागुन २१ गते देशभरका सिनेमाघरमा प्रदर्शन (रिलिज) गरिने निर्माण पक्षले जनाएको छ।
(1)-1787478198.jpeg)